हिजोआज सुनिदैनन् वर्ग सँघर्षका कुरा
वर्गीय मुक्तिमोर्चामा लामबद्द हुने कुरा
वर्गीय स्वार्थ पूरा गर्न निजी स्वार्थ त्याग्ने कुरा
हाँसीहाँसी सहिद हुने वीरगाथाका कुरा
हिजोआज सुनिदैनन् वलिदानका कुरा
लडाइँको मैदानबाट पछि नहट्ने कुरा
साम्यवाद हो लक्ष्य भन्ने आस्था र अठोटका कुरा
समानताको राज ल्याउने दृढ सँकल्पका कुरा
हिजोआज सुनिदैनन् वर्गदुश्मनसँग लड्ने कुरा
सम्झौताहिन संघर्ष गर्दै अघि बढ्ने कुरा
गरीबदुखीका दिन ल्याउने प्रतिबद्धताका कुरा
विभेदरहित समाज बनाउने बृहत योजनाका कुरा
हिजोआज सुनिदैनन् गाउँबस्तीका कुरा
जहान वाला एक्लै पारी घर छाडेका कुरा
देशको निम्ति आहुती दिने वाचा गरेका कुरा
भोकै प्यासै अभियानमा दिनरात खटेका कुरा
हिजोआज सुन्नुपर्छ मोलमोलाइका कुरा
आफ्नै सुख समृद्धि अनि भलाईका कुरा
लक्ष्य उद्देश्य थाती राखी अन्तै मोडिएका कुरा
संसार बदल्ने सोच त्यागी बाटो छोडिएका कुरा
खै कहाँ पुगे सँगैसँगै उकाली चढ्ने साथी
तारेभीरमा लौरो टेक्दै ओराली झर्ने साथी
चौपारीमा थकाइ मार्दा दुख साट्ने साथी
अध्यारोमा राँको बाल्दै बाटो काट्ने साथी