ति-हार, कविता-श्रृजना शर्मा रेग्मी

आँगनमा मखमली फुल्दा तिहार सम्झेर रोए,
सप्तरंगी टिका अनि अभागी यो निधार सम्झेर रोए ।।

तिमी गए संगै फर्किएन तिहार पनि कहिल्यै,
त्यो बज्रपात अभाव अनि दुखको प्रहार सम्झेर रोए ।।

खोइ किन हार्यौ तिमी यति छिटै जीवन देखी,
म पनि हारे तिमी संगै ति-हार सम्झेर रोए ।।

सपना सरी हरायौ तिमी फर्केनौ सम्झेर घर किन,
बुढा बाआमा अनि बुढेसकालको आधार सम्झेर रोए ।।

कसलाई सुनाऊ मनको बह कसलाई पोखु मन,
तिमि बिना अधुरो माइती अनि वरपर सम्झेर रोए ||

मिठास छैन भाई मिठाईमा तिमी गए पछि,
झिलीमिलि तिहार तर मलिन अनुहार सम्झेर रोए ।।

दैलामा ओखर फोड्छु तिम्रो आत्मा शान्तिको कामना गर्दै,
सुक्यो सयपत्री माला तिम्रो यादमा म तिनै हार सम्झेर रोए ।।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance