काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले बताएका छन्।
प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन्।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।प्रचण्डलाई प्रतिनिधि सभाका १६९ जना सांसदको समर्थन रहेको छ।
प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।


