गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।
बाढीले आसपासका क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका कारण हालसम्म ४५ घर पूर्ण रूपमा र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३४ गोठमा क्षति पुगेको छ।
विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन्। प्राधिकरणको विवरणअनुसार नेपाली सेनाको विपद् प्रतिकार्य टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ठूलो संख्यामा सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका छन्।


