दिपक–दीपाको ‘छ माया छपक्कै’ हेरेपछि लपक्कै हुनुपर्ने, म त कन्फ्युज पो भएँ ! फिलिम चलिसक्यो । पैसा फलिसक्यो । माग्नेले हँसाइसक्यो । दिनेले रुवाइसक्यो । दर्शकले दिइसके । निर्माताले लिइसके । अब तारिफ र आलोचनाको के अर्थ छ त ?
छ, अवश्य छ । शत्–प्रतिशत सफल केही पनि हुन्न । खोट लाउनै नमिल्ने कोही पनि हुन्न । भन्नुपर्ने केही कुरा छन्, पूरा गर्नुपर्दथ्यो, ती अपूरा छन् । तर म त्यतातिर गइनँ, सोझै कथाकार÷निर्देशक दीपेन्द्र लामातिर लागेँ ।
कथा छ– सधैँं खडेरी पर्ने घडेरीगाउँमा पानी छैन । जहिल्यै काकाकुल हुनुपर्ने गाउँमा सधैँं प्रगतिशिल पार्टीले जित्छ तर पानी कहिल्यै आउँदैन ।
नानी र पानीको चक्करमा घडेरी गाउँका केही प्रगतिशील युवाहरू प्रजातान्त्रिक पार्टीमा प्रवेश गर्छन् । त्यस पार्टीले उनीहरूलाई प्रयोग मात्रै गर्छ । फेरि पार्टी छोडेर उनिहरूले ‘नो भोट’ अभियान छेड्छन् । चुनावमा कसैले भोट हाल्दैन । आन्दोलनको यो शान्तिपूर्ण तरिका सफल हुन्छ । पार्टीहरूले सामूहिक प्रतिबद्धता जनाउँछन् । अनि घडेरीगाउँमा पानी आउँछ । मरमसलासहित सिनेमा सकिन्छ । हेर्न मज्जा आउँछ ।
‘छ माया छपक्कै’ मा ‘कमरेड’, ‘प्रगतिशील’, ‘क्रान्ति’ जस्ता शब्दहरू प्रयोग छन् । घडेरीगाउँका सिद्धान्तनिष्ठ कमरेड कुलप्रसाद र केन्द्रका आदर्शच्यूत नेतृत्वको वरिपिर कथा घुमेको छ ।
‘केहीले कम्युनिस्ट विरोधी चलचित्र भन्ने आरोप लगाए ।’ निर्देशक दीपेन्द्र लामाले सोधेँ– ‘तपाईलाई कस्तो लाग्यो सर ?’ त्यतिबेला भन्न भ्याइएन, अहिले आफ्नो विचार लेख्दै छु, भूलचुक लिने–दिने ।
‘कम्युनिस्ट’, ‘विरोधी’ र ‘चलचित्र’ ः यी तीनवटा शब्द एकै ठाउँमा अट्नै सक्दैनन् । चलचित्रको काम मनोरञ्जन र शन्देश हो । विरोधीको काम विरोध र अवरोध हो । कम्युनिस्टले निष्ठापूर्वक देश र जनताको काम गर्ने हो ।
मैले बुझेको यही हो ।
कम्युनिस्ट भनेको जोगीजस्तै हुन्छन् जसको निजी सम्पत्ति हुँदैन रे ! व्यक्तिगत स्वार्थ हुँदैन रे ! सम्पूर्ण जीवनमा देश र जनतामा समर्पित गर्छन् रे ! जसरी जोगीको घरबार हुँदैन, त्यसैगरी कम्युनिस्टको दरबार हुँदैन रे ! जनता जस्तोमा सुत्छन्, कम्युनिस्ट त्यस्तैमा बस्छन् रे ! जे खान्छन्, त्यही खान्छन् रे !
तर अहिलेको सन्दर्भमा यी सबै दन्त्यकथा मात्र हुन्, जो पुस्तकमा मात्र पाइन्छन् । मरेपछि स्वर्ग पुगिन्छ भनेर ज्युँदै मर्न सिकाउने अन्धविश्वास र क्रान्तिपछि मुक्ति पाइन्छ भन्दै लड्न पठाउने सिद्धान्तमा खासै भिन्नता छैन । यस अर्थमा सिनेमा ‘कम्युष्टि विरोधी कथा’ हैन, सिद्धान्त र चरित्रबिचको अनमेल सम्बन्धको यथार्थ चित्रण हो ।
अहिलेको युवाले जुन पार्टीको सिद्धान्त अँगाल्छ, त्यो माक्र्सवादको ठेली पढेर वा समाजवादको वेद घोकेर वा राजावादको रहस्य बुझेर अँगालेको हैन । बाबु कम्युनिस्ट भएकाले छोराहरू कम्युनिस्टमा लागेका होलान् ! श्रीमान् काङ्ग्रेस भएकाले श्रीमती काङ्ग्रेस भएकी होलिन् ! आशा, निरासा, अपेक्षा, सुरक्षा आदि–इत्यादिका कारण हामी यो वा त्यो पार्टीको नजिक वा टाढा भएका हौँ ।
हाम्रो यही कमजोरीलाई राजनैतिक शक्तिहरूले आफ्नो एटिएम (एनी टायम मतदाता) बनाएर दुरूपयोग गरिरहन्छन्, यो वादी होस् वा त्यो वादी ।
‘छ माया छपक्कै’ ले उठाएको विषयलाई पुष्टि गर्न अहिले जनगायक जीवन शर्माको अवस्था हेरे पुग्छ । सधैँंभरि जनताको गीत गाएर हिँड्ने जीवनले अलि अलि भएको सम्पत्ति छोरालाई दिएर हिँडे । आफ्नो भन्नु केही छैन । छोराहरूको अवस्था पनि झण्डै त्यस्तै छ । ‘वास्तविक सर्वहारा’ जीवनका छोरा अहिले जीवन–मरणको दोसाँधमा छन् । उपचार गर्न धौ धौ छ ।
उपचारको क्रममा आधा डुबिसकेका छन्, निको भए पनि÷नभए पनि ऋणमा चुर्लुम्म डुब्छन् । के आदर्शको राजनीति गर्नु भनेको यसरी नै डुबान क्षेत्रमा पस्नु हो त ?
यो त चिनिएका जीवनको कथा भयो । दूरदराजका गुमनाम हजारौँ जीवन शर्माहरू आर्दशको राजनीति गर्दागर्दै रोगी बनेका छन् । जोगी बनेका छन् । सिद्धान्तले भोको पेट नभरिने निष्कर्षमा पुगेका छन् ।
अङ्ग्रेजीमा स्नानतोत्तर गरेका जीवन शर्माले चाहेको भए सुविधासम्पन्न जीवन बाँच्न र बचाउन सक्थे । तर उनले जनताको साथ रोजे । निजी सम्पत्ति तोडे । कतै व्यवसाय गरेनन् । छोरासँग भएका अलि अलि नगद पनि नारायण भयो । अहिले आफूसँग पनि फुट्या कौडी छैन । तर पनि गम्भीर बिमार छोरोको हात सुम्सुम्याउँंदै जीवन भन्छन्– ‘मलाई विश्वास छ, जीवन हुञ्जेल मृत्यु आउँदैन ।’
‘छ माया छपक्कै’ कम्युनिस्ट विरोधी कथा हैन, सिद्धान्तलाई व्यवहारमा उतार्न दबाब दिने चलचित्र हो । सिनेमालाई नाम र दाम काफी मिलेको छ । तपाईको सिनेमाका बीजपात्र जीवन शर्माहरूलाई अप्ठेरो परेको बेला भरथेग गर्नुपर्छ है दीपकजी, थप बलियो शन्देश जान्छ ।
धधध।नबवगचभब।िअयm बाट


