नारायण शर्मा
निभेको छैन क्रान्तिको ज्वाला
झन झन दन्किँदै छ
मुक्तिको संग्राम रोकिन्न कहिल्यै
झन झन झन झन झन झन गर्जिदै छ
उठन उठ हे देशका युवा हिम्मत गरेर
वर्गसंघर्षको शंखनाद गर्दै विगुल फुकेर….
हो, देशमा राजनैतिक क्रान्ति अझै पूरा भएको छैन । समाजमा जबसम्म विभेदकारी कानुनहरु, अन्याय, अत्याचार र असमानता बाँकी रहन्छन् तबसम्म मुक्तिको संग्राम पनि चलिनै रहन्छ । वर्गविहिन समाज निर्माणको महाअभियान, समाजमा वर्गहरुको अस्तित्व रहुन्जेल चलिनै रहन्छ । जबसम्म समाजमा गरिखाने र बसिखाने दुई वर्गहरुको अस्तित्व रहन्छ तवसम्म ती दुई वर्गबीच लडाइँ चलिनै रहन्छ । जबसम्म गरिखाने श्रमजीवीवर्गको हातमा सम्पूर्ण रुपबाट राज्यसत्ता आउँदैन तबसम्म शोषितपीडित श्रमजीवी वर्गले क्रान्ति यात्रालाई अघि बढाइनै रहेको हुन्छ । कसैले चाहे पनि र नचाहे पनि यो क्रान्ति यात्रा रोकिएको हुँदैन । हो, देश, काल परिस्थिति अनुसार क्रान्तिका स्वरुपहरु फरक फरक हुन सक्छन् । तर क्रान्ति यात्रा चलिनै रहन्छ । यही यथार्थ तथ्यको बोध गराउँदै एउटा नयाँ क्रान्तिकारी गीत आएको रहेछ–“निभेको छैन, क्रान्तिको ज्वाला ।” रक्तिम सांस्कृतिक अभियानका हस्तीद्वय जनकलाकारहरु दानबहादुर थापाको शब्द÷लय थुमराज ढुंगानाको स्वरमा रहेको यस गीतमा संगीत र संगीत संयोजन रक्तिम सांस्कृतिक अभियानमा लामो कालखण्ड व्यतित गरेका र हाल व्यवसायिक कलाकारितामा क्रियाशील रहेका चर्चित गायक÷संगीतकार सौगात सायरले गरेका छन् । थुमराज ढुंगानाको युटुव च्यानलबाट २३ नोभेम्बर २०२१ अर्थात् २०७८ मंसिर ७ गते सार्वजनिक भएको यो गीतको सम्पादन सुकुराम रसाइलीले गरेका छन् । उच्च क्रान्तिकारी भाव बोकेका शब्दहरु गीतमा रहेका छन् । गीतका शब्दहरुले सर्वहारा वर्गको मुक्तिका लागि चल्ने क्रान्ति यात्राका बारेमा सरलीकृत किसिमबाट व्याख्या गरेको छन् :
अप्ठ्यारो बाटो काँडाको थाक्दै न थाक्ने दौंतरी
ताकी निसानी लक्ष्यमा पुग्ने गर्भिलो आँट गरी
त्यो वर्गविहिन आस्थाको सुन्दर सपना
चट्टान जस्तै बनेर दृढ सुनौलो विपना
निभेको छैन…………
मृत्युको पर्खाल नाघेर अझै साहास भरेर
अमर रक्तक्रान्तिको अजय किल्ला भएर
त्यो पुरानो दाशताको जंजीर तोडेर
पुग्नु छ टाढा अझै हजार जंघार तरेर…..
क्रान्तिको बाटो सरल र सोझो हुँदैन । मुक्तिको शिखर चुम्नका लागि हरेक क्रान्ति यात्रीहरु काँढेतारको बाटोबाट हिंड्नु पर्ने हुन्छ । वर्ग दुश्मनलाई चिनेर उसका विरुद्धमा सम्झौताहीन निर्मम संघर्ष गर्दै क्रान्तियात्रीहरु अगाडि बढ्नुपर्छ । श्रमजीवी जनताको अजये शक्ति र क्रान्तिप्रतिको अटल विश्वास मनमा लिएर अगाडि बढ्ने योद्दाहरुले मात्र क्रान्तिरथलाई विजयको शिखरमा पु¥याउन सक्छन् । जनमुक्तिको लागि महासमरको यो यात्रा दीर्घकालिन प्रकृतिको हुन्छ । यो लामो यात्रामा हिंड्दा केही मानिस थाक्न सक्छन् । कोही गल्न सक्छन्, केही ढल्न सक्छन् । केही प्रलोभन र महत्वकांक्षाको दलदलमा फस्न सक्छन् । क्रान्तिका चर्को कुरा गरेर क्रान्तिकै गला रेट्न लाग्ने जमातलाई चिन्न निकै मुश्किल पर्दछ । तर चिन्न सक्नुपर्दछ । व्यक्तिगत स्वार्थ, इच्छा र महत्वकांक्षाहरु, पारिवारिक मोहजाल यी सबै चिजबाट मुक्त भएर, श्रमजीवी जनताको मुक्तिलाई नै एक मात्र अभिष्ट बनाएर अघि बढ्नुपर्छ क्रान्तियोद्दाहरु । हतियारद्वारा सुसज्जित रहेको प्रतिक्रियावादी राज्यसत्ताले जनताको आन्दोलन अघि बढ्न नदिनका निम्ति दमनका सारा हतकण्डाहरु अपनाइरहेको हुन्छ । क्रान्तिकारीहरुले पाइलापाइलामा मृत्युका पर्खालहरु नाघेर अघि बढ्नु पर्ने हुन्छ सक्छ । आफ्नो लक्ष्य र आस्थाप्रति दृढ विश्वास रहन सक्यो भने प्रतिक्रियावादीका जुनसुकै हतकण्डाहरुले पनि क्रान्तिकारीहरुलाई गलाउन सक्दैनन् र ढलाउन सक्दैनन् । क्रान्तिकारी विचार एक यस्तो हतियार हो –जसले आधुनिक हतियारद्वारा सुसज्जित देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुलाई समेत पराजित गरिदिन सक्छ । हरेक क्रान्तिकारहिरुले त्यही दृढ विचार आफ्नो मनमा सजाउनु पर्दछ । त्यो आस्थाले, त्यो विश्वासले उनीहरुलाई गल्न दिने छैन, ढल्न दिने छैन क्रान्तिप्रति सदा बफादार र इमान्दार बनाइराख्न काफी मद्दत पुर्याउँदछ । वर्गविहीन व्यवस्थाको निर्माण त्यो अहिलेलाई सपनाको व्यवस्था जस्तो लाग्न सक्छ । तर त्यही व्यवस्था स्थापित नगरेसम्म श्रमजीवी शोषितजनहरुको पूर्णमुक्ति हुने छैन । त्यही सपनालाई विपनामा परिणत गर्नका लागि नै क्रान्तियोद्दाहरु निरन्तर लागि परिरहनु पर्दछ ।
अहिले जुन व्यवस्थामा हामी बाँचिरहेका छौं त्यो वास्तवमा गरिखाने वर्गको व्यवस्था होइन । वर्तमान संसदीय व्यवस्थाबाट सुधारका झिना मसिना काम गर्न नसकिने होइन तर यो व्यवस्थाभित्रबाट श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन एकदमै असम्भव छ । संसदीय व्यवस्था अन्तत ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ नै हो भन्ने तथ्य प्रमाणित भैसकेको छ । कम्युनिस्ट क्रान्तिकारीहरुले खोजेको, रोजेको व्यवस्था यो हुँदै होइन । हाम्रो परिकल्पनाको सामाजिक व्यवस्थामा पुग्नका लागि त अझ हामीले लामो क्रान्ति यात्रा गर्न बाँकी नै छ । कम्युनिस्ट क्रान्तिकारीहरुले वर्तमान संसदीय व्यवस्थालाई भावी जनवादी क्रान्तिको तयारीको पक्षमा उपयोग मात्र गर्नु पर्दछ । यो व्यवस्थाका विकृतिहरुलाई जनसमक्ष छर्लङ्ग पारिदिनका लागि मात्र उपयोग गर्नुपर्दछ –संसदीय चुनाव कम्युनिस्ट क्रान्तिकारीहरुले । जनतालार्ई भुक्काएर, प्रलोभन देखाएर उनीहरुको भोट लुटी सत्तामा पुगेर कसरी लुटतन्त्र मच्चाउँछन् शासकहरु–त्यो कुरा जनतालाई बुझाउने काम कम्युनिस्ट क्रान्तिकारीहरुले गर्दै जानु पर्दछ ।
संसदको उपयोगको नाममा संसदीय दलदलमा आफै फसेर क्रान्तियात्रालाई रोक्ने धृष्टता कसैले गर्छ भने–त्यस्ता लाल गद्दारहरुलाई क्रान्तिकारीहरुले बेलैमा चिनेर दण्डित गर्न सक्नु पर्दछ । ती केही व्यक्ति, केही नेता, केही समूह त्यसरी संसदीय दलदलमा फसे भन्दैमा क्रान्तियात्रा रोकिंदैन र कदापी रोक्नु हुँदैन । बरु क्रान्तिकारी कम्युनिस्ट आन्दोलनभित्र बेला बेलामा देखा पर्ने त्यस्ता अवसरवादका ऐजेरुहरुलाई मिल्काउँदै क्रान्तिकारीहरु अघि बढ्नुपर्छ । पुँजीवादी, साम्राज्यवादी र प्रतिक्रियावादीहरुले कम्युनिस्ट आन्दोलनप्रति भीषण हमला गरिरहेका छन् । अब ‘संसारमै कम्युनिस्ट शासन छैन’ भनेर अफवाह फैलाइरहेका छन् । तर उनीहरुको यो अफवाह अस्थायी कुरा हो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन यतिबेला संसारभर केही कमजोर देखिएको भए तापनि अन्ततः श्रमजीवी जनताको समाजवाद–साम्यवादको यो क्रान्तियात्रा संसारभर जारी छ र अन्तिम जीत श्रमजीवी जनताकै हुने छ । समाजवादी राज्यसत्ताको निर्माण संसारभर अवश्यमभावी छ । क्रान्तियात्राका अभियात्रीहरु त्यही दृढ विश्वासका साथ अघि बढनु पर्दछ । उनीहरु निरास हुनुहुँदैन । झनै उत्साहित हुँदै क्रान्तिको ज्वाला फैलाउँदै जानुपर्दछ । ज्वारभाटासँग जुध्दै, भुमरीसँग खेल्दै, बाहिरी मात्र होइन आफ्नै आन्दोलनभित्रका अवसरवादी बैरीहरुसँग लडाई खेल्दै अगाडि बढ्नुपर्दछ । न्यायप्रेमी श्रमजीवी जनताको साथ सहयोग र समर्थनमा त्यसरी निरन्तर अघि बढेपछि नै उनीहरुले विजयको शिखर चुम्न सक्ने छन् । गीत निभेको छैन क्रान्तिको ज्वालाले मूल रुपमा त्यही सन्देश दिएको छ ।
उर्जाशील, प्रेरणादायी र क्रान्तिकारी गीत
गीत “निभेको छैन क्रान्तिको ज्वाला” का प्रत्येक शब्दहरुले उच्च क्रान्तिकारी भाव बोकेका छन् । प्रगतिशील सांस्कृतिक आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानका गीत÷संगीतको छुट्टै विशेष पहिचान र विशेषता रहेको छ । रक्तिमको पहिचान स्थापित गर्न रक्तिमका संस्थापक जनगायक जीवन शर्माको विशेष मुख्य भूमिका रहेको सबैलाई अवगत नै छ । तर केही वर्ष यति देखि रक्तिमको लोगो प्रयोग गरेर ल्याइएका केही गीतहरुले रक्तिमका गीतहरुको त्यो स्पीरिट र परम्परालाई पछ्याउन सकेको देखिंदैनथ्यो । रक्तिमको लोगो दुरुपयोग गरेर आफ्नो व्यवसायिक कम्पनी चलाउन खोज्नेहरुलाई यो गीतले दरिलो झापड दिएको छ । गीत “निभेको छैन क्रान्तिको ज्वाला” ले रक्तिमको त्यो गर्भिलो इतिहासको पदचाप पछ्याएको प्रष्ट बुझिन्छ । गीतका शब्दहरुले जुन प्रकारको उच्च क्रान्तिकारी भाव बोकेका छन् । त्यसप्रति पूर्ण न्याय हुने प्रकारले संगीत भरेका छन् –संगीत संयोजक सौगात सायरले । गीतको संगीतमा पनि रक्तिमको त्यो गौरवमय परम्परा झल्कनुपर्छ भन्नेमा उनी आफै पनि विशेष सजग देखिएका छन् । सौगात आफै पनि रक्तिम सांस्कृतिक अभियानमा एक कालखण्डमा विशेष योगदान दिएका कलाकार हुन् । उच्च क्रान्तिकारीभावका दर्जनौं रक्तिम गीतहरुमा उनले शब्द, संगीत र स्वर दिएका छन् । अहिले व्यवसायिक कलाकारितामा क्रियाशील रहेका कलाकार सौगात सायरलाई जुन विश्वासका साथ संगीत संयोजनको जिम्मा दिएको हुनुपर्छ यस गीतका सर्जगले–त्यसप्रति उनले पूर्ण न्याय गरेको देखिन्छ । रक्तिमकै एक हस्ती, जनकलाकार थुमराज ढुंगानाको ओझिलो स्वरले गीतमा ‘सुनमाथि सुगन्ध’ थपेको छ । गीतका शब्द र संगीतले जुन प्रकारको स्वरको माग गरेको छ । त्यसलाई आत्मसाथ गरेर गाएका छन् ढुंगानाले । उनको स्वरमा खोट लगाउने कतै ठाउँ भेटिंदैन ।
प्रगतिशील र क्रान्तिकारी गीत÷संगीतको तुलना अन्य व्यवसायिक गीतसँग हुन सक्दैन । यस्ता गीतहरुको आफ्नो छुट्टै महत्व र विशेषता हुन्छ । प्रगतिशील र क्रान्तिकारी गीतहरुमा शब्दभावलाई मुख्य मानिन्छ । “निभेको छैन क्रान्तिको ज्वाला” गीतको शब्दले उच्च क्रान्तिकारी भाव बोकेका छन् । क्रान्तियात्राका प्रत्येक योद्दाहरुलाई यो गीतले प्रेरणादायी उर्जा दिने आशा गर्न सकिन्छ ।
उच्च क्रान्तिकारी भाव बोकेको नयाँ गीत “निभेको छैन क्रान्तिको ज्वाला” ल्याएर सर्जक दानबहादुर थापाले प्रगतिशील सांस्कृतिक आन्दोलनमा एक सह्रानीय काम गरेका छन् । जनगायक जीवन शर्माकै गाउँ बागलुङ राङखानीका दानबहादुर थापा प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो समयदेखि सक्रियतापूर्वक क्रियाशील रहँदै आएका सांस्कृतिक योद्दा हुन् । प्रगतिशील गीत÷संगीतको सिर्जनालाई उनले वर्षौं पहिलेदेखि निरन्तरता दिंदै आएका छन् । ‘रातो सलाम’, ‘सगरमाथाले’ ‘के हेछौं युवा’, ‘धन कमाउने रहर मात्र भो’ र ‘नेपाली माटोले भन्छ तिमीलाई’ लगायतका झण्डै दुई दर्जन प्रगतिशील गीतहरु उनको आफ्नै शब्द र संगीतमा रेकर्ड गराइसकेका सर्जक दानबहादुर थापाका निकट भविष्यमा क्रान्तिकारी भावको ‘उकाली चढ्दै जाउ’ र राष्ट्रिय भावको ‘प्राण भन्दा प्यारो’ बोलका गीतहरु आउँदैछन् । सर्जक थापाकै शब्द र संगीत अनि सौगात सायरको स्वरमा वरिष्ठ जनगायिका लक्ष्मी गुरुङको स्मृतिमा रचिएको “सानो थियो शरीर तर….” बोलको गीत पनि केही दिन अगाडि सार्वजनिक भएको छ ।
कम्युनिस्ट आन्दोलनमा बेलाबेलामा देखा पर्ने विभिन्न खालका भड्कावहरुबाट विचल्लित नभई निरन्तर क्रान्तियात्रामा अघि बढ्न क्रान्तियात्रीहरुलाई अभिप्रेरित गर्ने अभिप्रायबाट गीत “निभेको छैन क्रान्तिको ज्वाला” निर्माण गरिएको सर्जक दानबहादुर थापा बताउँछन् । “संसारभरीको र हाम्रै देशको कम्युनिस्ट आन्दोलन पनि दक्षिणपन्थी अवसरवादबाट प्रताडित रहँदै आएको छ । तर त्यसका विरुद्धमा क्रान्तिकारी विचार बोकेका योद्दाहरुले सम्झौताहीन संघर्ष पनि अगाडि बढाइरहेका छन् ।”–उनी भन्छन्–“क्रान्तिको यात्रामा लाग्ने प्रत्येक यात्रीहरुलाई क्रान्तिकारी विचारको रक्षा गर्दै क्रान्तियात्रा अघि बढाउन उर्जा मिलोस् भन्ने अभिप्रायबाट नै २०७८ भदौमा यो गीतको रचना गरिएको थियो ।”गीतको संगीत संयोजन र स्वरबाट आफू पूर्ण सन्तुष्ट रहेको सर्जक दानबहादर थापाले बताए । यस्तै गीतका गायक जनकलाकार थुमराज ढुंगाना पनि क्रान्तिकारी आन्दोलनमा लागेकाहरुलाई यस गीतले उर्जा प्रदान गर्नेछ भन्ने अभिप्रायबाट नै यो गीत ल्याइएको बताउँछन् । “पछिल्लो समयमा नेपालमा क्रान्तिकारी भनिने पार्टी संगठनहरुमा समेत क्रान्तिकारीपन हराउँदै गएको देखिन्छ । ती पार्टीहरु भित्रका क्रान्तिकारी र गैरक्रान्तिकारीका बीचमा भीषण अन्तरसंघर्ष चलिरहँदा कतिपय पंक्ति निरास हुँदै गएको पनि देखिन्छ ।” गायक दुंगाना भन्छन्–“मित्र दानबहादुरजीले लेखेका यो गीतका शब्द देखेपछि यसले क्रान्तिकारी आन्दोलनमा लागेकाहरुलाई उर्जा प्रदान गर्न मद्दत पु¥याउँछ भन्ने लाग्यो र याये गीत निर्माणमा जुटिएको थियो । मित्र सौगात सायरले पनि गीतका शब्दहरुमा न्यायपूर्ण संगीत भर्नु भयो, मैले आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गरेर गाउने कोशिस गरे । आखिर गीत राम्रै बनेको जस्तो लागेको छ । यो गीतबाट म पूर्ण सन्तुष्ट छु ।” सर्जक थापा र गायक ढुंगाना मात्र होइन यो गीत सुनिसकेपछि क्रान्तिकारी आन्दोलनमा लागेको प्रत्येक अभियात्रीहरु सन्तुष्ट हुनेछन् भन्ने अपेक्षा राख्न सकिन्छ । प्रगतिशील गीत संगीतको क्षेत्रमा आगामी दिनमा पनि यसप्रकारको उच्च क्रान्तिकारी भाव बोकेका गीतहरुलाई सर्जक दानबहादुर थापाले निरन्तरता दिंदै जाउन । सर्जक थापा, गायक थुमराज ढुंगाना र संगीत संयोजक सौगात सायर लगायत “निभेको छैन क्रान्तिको ज्वाला” गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई एवं धन्यवादका साथ गीत सफलताको पनि शुभकामना ।
आखिर कस्तो बनेको छ त गीत ? अब थुमराज ढुंगाना युटुव च्यानलमा गएर सुनौं र हेरौं “निभेको छैन क्रान्तिको ज्वाला ।”



