जहिल्यै काकाकुल कोइलाबास

८ जेठ, दाङ । गढवा गाउँपालिका-८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम सुरु भएपछि हरेक वर्ष पिउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउँछ । गर्मी मौसम लाग्नै हुन्न कोइलाबासमा पानीको समस्या सुरु भइहाल्ने उनी बताउँछन् ।

तर यो समस्या आजको समस्या होइन,  कोइलाबासमै जन्मिएका ५७ वर्षीय तुलाधरले थाहा पाएदेखि नै हरेक वर्ष पानीको समस्या झेल्दै आएको अनुभव सुनाए ।गर्मी सुरु भएपछि कुवा, इनार तथा खोलामा पानी सुक्ने तुलाधरको भनाइ छ । उनीजस्तै कोइलाबासका १ सय २० घरधुरीले पानीको समस्या भोग्दै आएका छन् । गाउँमा भरपर्दो पानीको स्रोत नहुँदा स्थानीयबासी भारतबाट आउने जारको पानी किनेर पिउन बाध्य छन् ।

भारतबाट पानी ल्याउने व्यापारीको समेत बिक्रीका लागि पानी ल्याउने कुनै निश्चित समय हुँदैन । यदि आफैं पानी लिन जानुपरे भारतको बलरामपुर पुग्नुपर्ने स्थानीयबासीको गुनासो छ । बलरामपुर कोइलाबासबाट ८ किलोमिटर टाढा छ । त्यसमाथि नाकामा आवतजावत गर्न सहज छैन ।

स्थानीय नरेश अधिकारीले यहाँको पानीको समस्या समाधानका लागि हालसम्म कुनै निकायले पहल नगरेको आरोप लगाउँछन् । ‘मानिसले कपडा धुने, नुहाउने, गाईवस्तुलाई खुवाउने र चराचुरुङ्गीले खाने पानी पाउन समस्या छ’, अधिकारीले भने । उनका अनुसार खोलामा खाडल बनाएर त्यसैबाट आएको पानी ट्याङ्कीमा जम्मा गरेर ३/४ दिनमा वितरण गर्ने गरिएको छ ।

पानीको समस्या विगत लामो समयदेखि भए पनि समाधानका लागि ठोस पहल नभएको उनको भनाइ छ । वडाको बजेट पर्याप्त नहुने र पालिका तथा सङ्घ, प्रदेशबाट सहयोग नहुँदा समस्या समाधान हुन नसकेको उनले बताए ।

IME Remittance