काठमाडौं । अक्टोबर २ मा मनसुन बाहिरिने पूर्वानुमान गरिएतापनि अझै केही दिन मनसुन नेपालमा नै रहने भएको छ । मौसमविद् मञ्जु बासीले दिएको जानकारी अनुसार पश्चिमबाट मनसुन निष्क्रिय हुँदै जाने क्रम सुरु भएपछि मात्र मनसुन बाहिरिने तर त्यो क्रम सुरु हुनलाई अझै केही दिन लाग्नेछ ।
यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ मा पनि मनसुन नबाहिरिने भएको हो ।
अहिले भारतको बिहार तथा आसपासतिर बनेको न्यूननापीय क्षेत्रको प्रभावले प्रदेश १, २ र बागमतीमा हल्कादेखि मध्यम वर्षा भइरहेको र यी स्थानमा सोमबारदेखि प्रभाव कम हुने मौसमविद् बासीले जानकारी दिइन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षा र एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ । प्रदेश १ का थोरै स्थानमा भने सोमबार पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मंगलबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


