मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै
छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाइडबडी जहजा काठमाडौँबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ । निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिनुभयो । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उहाँले बताउनुभयो । ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गर्नुभयो । वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । -रासस


