काठमाडौँ । नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्रोत, सहयोग र क्षतिपूर्तिको माग गर्दै आए पनि त्यसलाई बलियो बनाउने आन्तरिक तयारी भने निकै कमजोर देखिएको छ। जलवायु वित्तमा पहुँच, स्थानीय तहको क्षमता, हिमाली मुद्दाको अन्तर्राष्ट्रिय पैरवी, राष्ट्रिय प्राथमिकता र राज्य–नागरिक समाजबिचको प्रभावकारी समन्वय हुन नसक्दा नेपालको जलवायु न्यायको दाबी अपेक्षित रूपमा प्रभावकारी बन्न सकेको छैन।
जलवायु कार्यमा संलग्न विज्ञहरूले विश्वसामु जलवायु न्यायको मुद्दा बलियो रूपमा उठाउन नेपालले आन्तरिक क्षमता वृद्धिसँगै अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ले सन् २०३५ सम्म ७५ देखि ९० अर्ब डलर र राष्ट्रिय अनुकूलन योजनाले २०२१ देखि २०५० का लागि ४७ अर्ब डलर आवश्यक पर्ने देखाएका छन्। तर, हरित जलवायु कोषलगायतका माध्यमबाट नेपालले पहुँच गरेको रकम आवश्यकताको तुलनामा नगण्य छ।
जलवायु उत्थानशील विज्ञ दीपक केसीले रकमको आवश्यकता मात्र नभई प्राप्त स्रोतको पहुँच र प्रभावकारी उपयोगमा पनि मुख्य समस्या रहेको बताए। जलवायु कोषबाट रकम ल्याउन परियोजना तयारी, वातावरणीय तथा सामाजिक सुरक्षाजस्ता कडा मापदण्ड पूरा गर्नुपर्ने हुँदा प्रक्रिया निकै लामो हुने उनले जानकारी दिए। यो प्रक्रिया पूरा गर्न चारदेखि छ वर्षसम्म लाग्ने र अनुदान प्राप्त गर्न गरिने उच्च निगरानीले पहुँचलाई थप कठिन बनाएको उनको भनाइ छ।


