रातो लालटिन समाचारदाता,
काठमाडौँ , १ जेठ । पछिल्लो समयमा कोभिड १९ संक्रमणको दर विस्तारै घट्दो क्रममा रहेको छ । विगतका दिनहरुमा नौ हजारभन्दा माथि दैनिक संक्रमित रहेकोमा आज संख्या घटेर कुल ८ हजार १६७ मा आएको छ ।
यता निको हुने दर भने क्रमश वृद्धि हुँदै गएकाले वर्तमान चुनौतीपूर्ण स्वास्थ्यस्थितिमा केही सकारात्मक सन्देश प्राप्त भएको विज्ञहरु बताउँछन् । प्राप्त विवरण अनुसार आज मात्रै कुल ५ हजार ४५५ जना निको भएर घर फर्किएका छन् ।
आज मृत्यु संख्या पनि विगतको तुलनामा कम देखिएको छ । पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो २०३ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ता एकै दिन सबैभन्दा बढी २२५ जनाको मृत्यु भएको थियो ।
नेपालमा बैशाख पहिलो सातादेखि दोस्रो लहरको कोरोना संक्रमणमा बृद्धि भएको थियो । अहिलेसम्म नेपालमा चार हजार ८५६ जनाको मृत्यु भइसकेको छ । साँढे चार लाख संक्रमित भएकोमा तीन लाख ३३ हजार बढी निको भएर घर फर्किसकेका छन् ।



